प्रचण्डको चितवन मोह : जनतासँग किन डराउँछन् शक्तिशाली पार्टीका अध्यक्ष ?

प्रचण्डको चितवन मोह : जनतासँग किन डराउँछन् शक्तिशाली पार्टीका अध्यक्ष ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रीमतीको उपचारका लागि सिंगापुर जानुपरेकाले लामो समयपछि बिहीबार चितवन पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलनमा केरकारपछि प्रदेश राजधानी तोक्ने सन्दर्भमा भने, ‘मैले त चितवन नै भए राम्रो हुन्छ भन्छु ।’

प्रचण्डको जवाफमा चितवन प्रतिको अगाध लगाव झल्किन्छ । जुन स्वभाविक पनि हो । सबैले आफ्नो क्षेत्र र जिल्लामा केन्द्र बनोस् भन्ने चाहन्छन् । तर, प्रचण्डले प्रदेश राजधानीको निर्णय गर्ने अधिकार प्रदेश सभालाई भएकाले त्यसबारे पार्टीले कुनै निर्णय नगरेको बताए । चितवनमा राजधानी हुने/नहुनेबारे प्रचण्ड एकीन चाहिँ थिएनन् । तर, चितवनलाई प्राथमिकतामा राखेको प्रष्टै देखिन्थ्यो ।

पछिल्लो समय निरन्तर चितवन आउजाउ गर्दै चितवनप्रति प्रेम प्रकट गरिरहेका छन् । सिंगापुर जानुपरेकाले यसपालि चाहिँ प्रचण्ड झण्डै १ महिनापछि बिहीबार गृहजिल्ला चितवन गएका छन् । जेठ ३० गते ‘महान् सहिद शिव–राम स्मृति प्रतिमा अनावरण कार्यक्रम’मा सहभागी भएका प्रचण्ड त्यसपछि शुक्रबार चितवनका विभिन्न कार्यक्रममा सहभागी हुने योजना छ । प्रतिनिधिसभा निर्वाचनबाट चितवनको ३ नम्बर निर्वाचन क्षेत्रबाट विजयी भएपछि सम्भवतः पहिलो पटक यसपालि प्रचण्डले लामो समयपछि गृहजिल्लाका कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

श्रीमती सिता दाहालको स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएपछि प्रचण्डले चितवनलाई प्राथमिकतामै राखेर कार्यक्रम मिलाएका छन् । प्रचण्ड विदेशमा हुँदा पार्टी एकताका अति महत्वपूर्ण काम अड्केर बसेका थिए । स्वदेश फर्केपछि प्रचण्डले पहिलो प्राथमिकतामा पार्टीका कामलाई राखे । जसअनुसार बुधबारको नेकपा सचिवालय बैठकले पार्टी विधान र कार्यविधि टुंग्याएको छ ।

पार्टी विधान टुंगिएको भोलिपल्टै बिहीबार प्रचण्ड गृहजिल्ला चितवन गएका छन् । प्रचण्डले शुक्रबार चितवनमा विभिन्न कार्यक्रममा सहभागी जनाउँदै छन् । प्रचण्ड प्रतिनिधिसभामा निर्वाचित भएपछि प्रायः हप्तैपिच्छे निर्वाचन क्षेत्रमा जाने र जनतासँग प्रत्यक्ष जोडिने गरेका छन् । आफ्नो अनुपस्थितिमा जनताका गुनासा सुन्न प्रचण्डले सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् । जुन कार्यालयका गुनासा सोझैं प्रचण्डसम्म पुग्छन् र गुनासाको हल खोजिन्छ ।

प्राथमिकतामा चितवन
राष्ट्रिय राजनीतिको केन्द्र काठमाडौंमा हुने कतिपय भेटघाट र छलफललाई समेत स्थगित गर्दै प्रचण्डलाई चितवनलाई प्राथमिकतामा राख्छन् । चितवनमा हुने साना–साना औपचारिक कार्यक्रम र जनतालाई लाभ मिल्ने विकासका योजनामा प्रचण्डको प्रत्यक्ष नजर रहन्छ । प्रचण्डकै प्रत्यक्ष निर्देशन र पहलमा चितवनमा थुप्रै विकास निर्माणका महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेका छन् । निर्वाचन क्षेत्रका धेरैभन्दा धेरै ठाउँमा पुग्ने र टोल–टोलसँग सोझैं सम्पर्क साँध्ने प्रचण्डको योजना देखिन्छन् ।

 

अतिथि बनिदिन गृहजिल्लाबाट आउने प्रस्तावलाई प्रचण्डले सहजै अस्वीकार गर्दैनन् । बरु, काठमाडौंका कार्यक्रमलाई थाती राखेर चितवन रोज्छन् । जसले गर्दा चितवनवासी सर्वसाधारणलाई शक्तिशाली नेतालाई मतदान गरेर लाभ मिल्न थालेको छ । शीर्ष र शक्तिशाली भूमिकामा रहेका प्रचण्ड पार्टी र संगठन हुँदाहुँदै जनतासँग सोझैं जोडिनुपर्छ भन्ने मानसिकतामा किन पुगे ?

पराजयको त्रास
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले खुब तनाव झेल्नुपर्यो । निर्वाचनको केही हप्ताअघि मात्रै चितवनबाट चुनाव लड्ने भनेर प्रचण्डले घोषणा गरे । त्यसअघि, चितवनसँग प्रत्यक्ष जोडिएर काम नगरेकाले ढुक्क हुन सकिने अवस्था थिएन ।

प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे भएकाले पनि प्रचण्डलाई झन् तनाव भयो । राम्रो आर्थिक हैसियत भएका पाण्डेले आर्थिक चलखेल गर्न सक्ने र आफ्नै पार्टीका कार्यकर्ता प्रभावित हुन सक्ने सम्भावनालाई प्रचण्डले वेवास्ता गर्न सकेनन् । जसले गर्दा प्रचण्डलाई चुनावभरि पराजयको त्रास रहिरह्यो ।

चुनावकै दौरान प्रकाश दाहालको निधनले पुत्रवियोगमा परेका प्रचण्डको पूर्वनिर्धारित चुनावी कार्यक्रम पनि प्रभावित भए । चुनावकै बिचमा थुप्रै द्वन्द्वकालीन मुद्दा उचालेर प्रचण्डलाई बद्नाम गराउने प्रयास भयो । यस्ता अनेक षड्यन्त्रलाई प्रचण्डले यसपालिको निर्वाचनमा नजिकबाट देख्न पाए ।

चुनावी नतिजा प्रचण्डले डराएजस्तो आएन । राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्य निर्वाचित भए । पाण्डेभन्दा दाहालले ९ हजार ३ सय ४१ मत बढी पाए । प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याए भने वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९ सय ३५ मत पाए ।

नतिजाभन्दा पनि प्रचारप्रसार अवधिले प्रचण्डलाई पिरोल्यो । आगामी चुनावमा प्रचण्ड चुनावी डरबाट मुक्त हुने उपाय खोजिरहेका छन् । त्यसैले प्रचण्ड आफ्नो तर्फबाट भरमग्दूर प्रयास गरिरहेका छन् । जुन प्रयासले चितवनका जनतामा सकारात्मक छाप छाडिरहेको छ ।

काठमाडौंले दिएको झट्का
प्रचण्डले एक पटक हार व्यहोरिसकेकाले चितवनमा बढी डराउनुपर्ने अवस्था आएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौंको १० नम्बर निर्वाचन क्षेत्रमा पराजित भएका थिए । कम्यूनिस्टको किल्ला मानिने क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएर प्रचण्डलाई ठूलो झट्का लागेको थियो । पराजित हुँदै प्रचण्डले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । पहिलो संविधान सभामा भने प्रचण्ड सोही क्षेत्रबाट विजयी भएका थिए ।

उठबस बढी हुने काठमाडौंमा पराजित भएपनि प्रचण्ड सिरहाको ५ नम्बर निर्वाचन क्षेत्रबाट विजयी भए । जसले गर्दा संविधानसभामा प्रचण्डको उपस्थिति रह्यो । २ वटा निर्वाचन क्षेत्रबाट नलडेर प्रचण्डले काठमाडौंमै भरोसा गरेको भए प्रचण्ड दोस्रो संविधान सभामा उपस्थिति जनाउन पाउने थिएनन् ।

सिरहामा पनि प्रचण्ड फराकिलो मतान्तरले जित्न सकेनन् । प्रचण्डले १५ हजार २ सय ४४ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी लिलानाथ श्रेष्ठले १४ हजार ३ सय २३ मत ल्याएका थिए । दुबैको मतान्तर १ हजार १ सय आसपास थियो । जुन प्रचण्डको राजनीतिक उचाइका आधारमा थोरै नै हो । नयाँ संविधान घोषणा भएपछि २ निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने प्रावधान हट्यो । एउटै निर्वाचन क्षेत्र रोज्नुपर्ने प्रावधान र त्यहाँबाट जित्नैपर्ने बाध्यता प्रचण्ड लगायत सबै नेतालाई छ ।

छोरी रेणुलाई साथ
प्रचण्ड चितवनलाई आफ्नो स्थायी राजनीतिक आधार क्षेत्र बनाउन चाहन्छन् । विद्रोही स्वभावका प्रचण्डले विगतमा थुप्रै प्रयोग र परिवर्तन गरेपनि अब निर्वाचन क्षेत्र परिवर्तन गर्ने मुडमा उनी छैनन् । आफू मात्रै होइन, प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) निर्वाचित गराएका छन् ।

चितवनमा देखिएको प्रचण्डको सक्रियताले आफ्नो राजनीतिक आधार सुनिश्चित हुने मात्रै होइन, छोरी रेणुलाई बलियो साथ मिलिरहेको छ । चितवनमा हुने विकास निर्माणका काममा एकै पटक बुवाछोरीले श्रेय लिन पाउने अवस्था आएको छ । जुन श्रेयको राजनीतिक लाभ पनि आगामी निर्वाचनहरूमा दुबैलाई मिल्न सक्छ ।

प्रचण्डको पहल र रेणुको सक्रियतामा चितवनवासीले साँच्चिकै विकासको अनुभूति गर्न पाउने बेला आएको छ । जीवनको युवावस्था चितवनमा बिताएका प्रचण्ड गृहजिल्लाका कार्यक्रममा पूराना दिन सम्झिँदै आफू पनि भावुक हुन्छन् र स्थानीय वासिन्दालाई पनि भावुक बनाउँछन् । जसले गर्दा प्रचण्ड चितवनवासीको झन् नजिक भइरहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) गठन भएपछि पनि प्रचण्ड पार्टी अध्यक्ष भएका छन् । संसदमा नेकपाको झण्डै दुईतिहाई बहुमत छ । शक्तिशाली भूमिकामा रहेका प्रचण्डको १ टेलिफोनले मात्रै पनि चितवनमा विकासका कार्यक्रम जान सक्छन् । तर, प्रचण्ड फोनमै सीमित छैनन् । उनले विकास निर्माण सँगसँगै जनतासँग निकट र घुलमिल हुने पक्षलाई धेरै प्राथमिकतामा राखेका छन् ।

सिक्नेका लागि शिक्षा
थुप्रै आश्वासन बाँडेर चुनाव जितेपछि निर्वाचन क्षेत्रलाई पटक्कै नसम्झिने रोग नेपालका अधिकांश नेतामा छ । सम्झिएपनि चुनावको मुखैमा आएर अनेक बहानावाजी गर्दै जनतालाई बहकाउन खोज्ने प्रवृत्ति पनि छ । जसले गर्दा नेताले चुनावमा पराजय भोग्नुपर्छ ।
प्रचण्ड चुनाव जितेपछि ढुक्कले बसेका छैनन् । अहिले चुनाव छैन, ५ वर्षपछि हुने चुनावका लागि अहिल्यैबाट किन लाग्ने भन्ने सोचेका छैनन् । चुनाव जितेकै दिनदेखि प्रचण्ड लगातार चितवन र मतदाताको बिचमा गइरहेका छन् । प्रचण्डको यो प्रवृत्ति नेपालका सबै नेता र सांसदका लागि राजनीतिक शिक्षा बन्न सक्छ । चितवनमा देखिएको प्रचण्ड सक्रियतामा २–३ स्वार्थ देखिन्छन् – जिल्लाको तीब्र विकास, राजनीतिक आधारको सुनिश्चितता र छोरी रेणुको भविष्य ।

चितवनबाट देशभर नजर
प्रचण्ड आफ्ना सम्बोधनमा पटक–पटक भन्ने गर्छन्– इतिहासका निर्माता जनता हुन् । कुनै अमुक व्यक्ति वा राजा महाराजाले इतिहास निर्माण गर्न सक्दैनन् । त्यसैगरी प्रचण्डको नेतृत्वमा नेपाली जनताले छुट्टै राजनीतिक इतिहास निर्माण गरेका छन् । पछिल्ला राजनीतिक परिवर्तनको जगमा देशले अहिले समृद्धि र विकासको सुन्दर सपना देखेको छ ।

संसदमा झण्डै दुईतिहाई बहुमत रहेको शक्तिशाली पार्टी नेकपाको अध्यक्ष प्रचण्ड पनि छन् । तर पनि प्रचण्डलाई जनताको डर छ । इतिहासका निर्माण जनतालाई कतै प्रचण्डप्रति अविश्वास र संशय पैदा भयो वा गराइयो भने ? यस्तो अवस्थामा जनताले ‘नकारात्मक’ इतिहास पनि निर्माण गर्न सक्ने सम्भावना प्रचण्डले नजिकबाट देखेका छन् । त्यसैले प्रचण्ड जनतासँग डराउँछन् ।

कथम्कदाचित, नकारात्मक अर्थात् पराजयको इतिहास बन्यो भने त्यसको असर प्रचण्डलाई मात्रै होइन, देशलाई पनि पर्नेछ । प्रचण्ड राष्ट्रिय राजनीतिको सक्रिय भूमिकामा गौरवपूर्ण तरिकाले रहन पाउने छैनन् । जसले जनताको चाहना र सपनालाई प्रभावित पार्न सक्छ । तसर्थ, प्रचण्ड लगातार चितवनका जनताको बिचमै रहेर नेपाली जनताको सपना पूरा गर्ने सक्रिय भूमिकालाई सुनिश्चित गर्न चाहन्छन् ।