काठमाडौं –नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर विकास निर्माणको काम अघि बढाउन वर्तमान सरकारले सकारात्मक पहल गरिरहेको बताएका छन् । आजबाट शुरु भएको हिउंदे अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले केही कमजोरीका बावजुद विकास निर्माणको कामले बिस्तारै तिव्रता पाइरहेको बताएका हुन् ।
संसदलाई सम्बोधन गर्दै प्रचण्डले लाजिम्पाटबाट खुमलटार सर्दा एक वर्षसम्म धुलो र मैलोमा बस्नु परेको भएपनि अहिले स्थिति फेरिएको दावी गरे । ‘म बस्ने ठाउंमा मात्र भएको हो कि भन्दा सबैतिर सडक निर्माणलगायतका काम अघि बढेको छ । बर्खापछि काठमाडौंमा मास्क लगाउने जनता घटेको देख्छु ।’ प्रचण्डले भने । उनले प्रधानमन्त्री ओलीसंग काठमाडौंको धुलो मैलो हटाउन पहल गर्न आफुले आग्रह गरेको बताए ।
करिव ४० मिनेट वोलेका प्रचण्डले नुवाकोट र दाङ्गमा भएको दुर्घटनाप्रती दुख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना समेत प्रकट गरेका थिए । उनले देशमा लोकतान्त्रिक पद्दतिभन्दा कम्युनिष्ट शासन भएको भए विकास चांडो हुने समेत बताए ।
पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान कार्यान्वयन साझा दायित्व भएको भन्दै प्रतिपक्षी दल कांग्रेसलाई सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे ।
संविधान कार्यान्वयनको जिम्मेवारीलाई सफलता पुर्वक सम्पन्न गर्न मिलेर अघि बढ्नुको विकल्प नभएको प्रचण्डको भनाई थियो ।
अधिकांश समय सरकारको रक्षा गरेका प्रचण्डले संविधानसंग बांझिएका थुप्रै ऐनहरु संसोधन गर्नुपर्ने जिम्मेवारी संसदको रहेको भन्दै प्रतिपक्षी दलको पनि सकारात्मक सहयोग आश्यक पर्ने बताए ।
सहकार्यमा जोड
नेकपा अध्यक्ष प्रचण्डले विगतमा सत्तापक्ष र प्रतिपक्षी दल मिलेर अघि वढेको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य गर्दे अघि बढ्नुपर्नेमा जोड दिए ।
२००७ सालवाट सुरु भएको लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनको उत्कर्षको रुपमा संविधान निर्माण र त्यसपछिको निर्वाचन रहेको टिप्पणी गर्दे उनले इतिहासको निकै महत्वपुर्ण परिर्वतनलाई संस्थागत गर्दै गरेको विषयलाई सामान्य नलिन उनले आग्रह गरे ।
अहिलेसम्मका उपलब्धि शिशु अवस्थामा नै रहेको भन्दै उनले सत्तापक्ष र प्रतिपक्षी मिलेर प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।
विकास र सम्वृद्धिलाई सामुहिक जिम्मेवारीको रुपमा नबुझ्ने हो भने प्राप्त उपलब्धि संरक्षण गर्न नसकिने भन्दै उनले सहमति र सहकार्यलाई आत्मसाथ गर्न प्रतिपक्षी दललाई आग्रह गरे ।
प्रतिक्रिया