राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


बुटवल –  राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएका छन् । पोखरेलले प्रदेशभित्रका सातवटा आयोजनाका प्रमुखलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाएर आयोजनाहरुको प्रगतिको समीक्षा गर्दै छिटो पूरा गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले आयोजनाहरु समयमै पूरा हुुन नसक्दा सरकारको लागत खर्चसंगै विकास र समृद्धिको लक्ष्य पूरा नहुने बताए । उनले काम छिटो सम्पन्न गर्न प्रदेश सरकारले समेत सहयोग गर्ने बताए ।

प्रदेश ५ मा लुम्बिनी गुरुयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा सिंचाइ आयोजना, बबई सिंचाइ आयोजना, हुलाकी राजमार्ग, भेरी–बबई डाईभर्सन, मध्य पहाडी पुष्पलाल लोकमार्ग सञ्चालित छन् ।
छलफलका क्रममा प्रमुखहरुले प्रदेश सरकारलाई समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिए । आयोजना प्रमुखहरुका गुनासा र समस्या सुनेपछि मुख्यमन्त्री शंकर पोखरेलले काम समयमै पूरा गर्ने दायित्व आयोजना प्रमुखको पनि रहेको भन्दै आवश्यक सक्रियता र पहलकदमी लिन निर्देशन दिए ।