परिणाम देखिने काम नगरे जनताले कम्युनिस्ट पार्टीको विकल्प खोज्छन् : अध्यक्ष प्रचण्ड

परिणाम देखिने काम नगरे जनताले कम्युनिस्ट पार्टीको विकल्प खोज्छन् : अध्यक्ष प्रचण्ड


चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन् ।

सोमबार जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’ जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले भने- ‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्।’

फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए । ‘हामीले १२\१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’