पेरिस ओलम्पिक पुरुष फुटबल : अर्जेन्टिना र मोरोक्कोको खेल बराबरी

पेरिस ओलम्पिक पुरुष फुटबल : अर्जेन्टिना र मोरोक्कोको खेल बराबरी


काठमाण्डु-३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिना र मोरक्कोले बराबरी खेलेका छन् । हिजो भएको पहिलो खेलमा अर्जेन्टिना र मोरक्कोले २–२ गोलको बराबरी खेलेका हुन् । अर्जेन्टिनाका जियुलियानो सिमोन र क्रिस्चियन मदिनाले गोल गरेका हुन् । मोरोक्काका लागि दुवै गोल सुफियान रहिमीले गरे । यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको एक अङ्क भएको छ ।

ओलम्पिकको उद्घाटन भोलि शुक्रवार हुने भए पनि फुटबलसहितका केही खेल हिजोदेखि शुरु भएको हो । हिजै भएको समूह ‘सी’ को खेलमा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हराएको छ । समूह ‘ए’ को खेलमा न्यूजिल्याण्डले गिनीलाई २–१ ले हराएको छ ।

समूह ‘सी’ को अर्को खेलमा इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेलेका छन् । यस्तै समूह ‘बी’ को इराकले युक्रेनलाई २–१ ले हराएको छ । समूह ‘डी’ मा जापानले पाराग्वेलाई ५–० ले हराएको छ । समूह ‘ए’ अन्तर्गत आयोजक फ्रान्सले अमेरिकालाई ३–० ले हराएको छ । समूह ‘डी’ को मालि र इजरायलले १–१ गोलको बराबरी खेलेका छन् । पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली सहभागी छन् ।

पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलका खेल आजदेखि शुरु हुनेछन् । ओलम्पिकमा २३ वर्ष मुनिको टोलीबीच प्रतिस्पर्धा हुने गर्छ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।