विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइने

विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई बिहीबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी छ । प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुरले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

त्यसमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही बमोजिम अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा भोलि सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ । सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरीका स्रोतका अनुसार प्रकाण्डले चन्दा लिएको स्ववीकार गरेका छन् । अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा उनले ‘आर्थिक, भौतिक र नैतिक हिसाबले हामीले सहयोग लिएका छौं’ भनेका छन् । चन्दा नभइ, सहयोग लिएको’ उनको दाबी छ । ‘हाम्रो पार्टीको नीति नै यही हो’, प्रकाण्डले बयानमा भनेका छन् ।

विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउनमा पक्राउ परेका थिए ।उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेको छ । प्रकाण्डको कसुर प्रमाणित भए चन्दा ऐन २०३० अनुसार २ वर्ष कैद वा संकलित रकम जफत वा दुवै सजाय हुनसक्छ ।