काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समयावधि तोकिएको छ ।
आज मनोनयन दर्ता गरिएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यसपछि सभामुख चयनका लागि यही माघ १२ गते प्रतिनिधिसभामा चुनाव गर्ने कार्यतालिका छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि गत असोज १४ गते उनले पदबाट राजीनामा दिएका थिए । त्यस दिनदेखि सभामुख पद रिक्त छ ।
यसैकारण अर्काे सभामुख चयनका लागि चुनावी प्रक्रिया अघि बढाइएको हो । नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार चयनका लागि छलफल गर्दैछ । त्यसका लागि उसको संसदीय दल कार्यसमिति बैठक बसिरहेको छ ।
बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने सम्बन्धमा निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।
प्रतिक्रिया