संघीय संसदको पहिलो बैठक यस्ताे रह्याे

संघीय संसदको पहिलो बैठक यस्ताे रह्याे


काठमाडौं– नेपालको संविधान २०७२ अनुरुप भएको निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठक सोमबार भएको छ।

सोमबार अपराह्न ४ बजे बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्न पठाएको पत्र वाचन गरिएको थियो। राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र पनि वाचन गरिएको थियो। मन्त्रिपरिषद् गठन गरेको र विभिन्न मन्त्रीहरू नियुक्त गरेकोबारे राष्ट्रपतिले पठाएको पत्र वाचन गरिएको थियो।

बैठकले अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ।  बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका थिए।

उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै आसन ग्रहण गर्न आग्रह गरे।

प्रस्ताव ‘हुन्छ’ र ‘हुन्न’ भन्ने ध्वनि मतका आधारमा मत विभाजन गर्दा सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले संसद् नियमावली नहुन्जेलका लागि सदन सञ्चालन गर्न आवश्यक सो कार्यविधि पारित गरेको हो ।

बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ।