दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता


काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् ।

प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी छ ।

‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ । प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।