फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


काठमाडौँ – प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

गत पुस पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो। उनीहरु विरुद्ध समितिमा उजुरी परेको थिएन । समितिमा सांसदहरुले उनीहरुको कार्ययोजना बारेमा जानकारी लिदै अनुमोदनको निर्णय गरेका हुन् । समितिले पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा सुनुवाईका लागि बोलाइएको थियो।

अनुमोदन भएका दुवैजना परराष्ट्रका सहसचिव हुन्। त्यसमध्ये अधिकारी मन्त्रालयको शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) हुन् भने ढकाल चीन–जापान हेर्ने उत्तर–पूर्वी एसिया महाशाखाका प्रमुख थिए। प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

बैठकमा प्रस्तावित राजदूतद्वयले ती देशमा राजदूत भएर गएपछि आफूले सम्पादन गर्ने आआफ्ना कार्ययोजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।