काठमाडौं – सांसदहरुले समसामयिक र क्षेत्रगत समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको माग लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सिता देवी यादव र ज्ञानेन्द्र बहादुर कार्कीले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै डाक्टर केसीसँग भएको सम्झौता कार्यान्वयन गरी अबिलम्ब माग पूरा गर्न सरकारसँग माग गरे । सांसद कार्कीले डाक्टर केसीको माग सम्बोधन नभए गम्भीर दुर्घटना निम्तने भन्दै अबिलम्ब माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद विना कुमारी श्रेष्ठ र शशि श्रेष्ठले संसद सचिवायले निजी बैक नभई सरकारी बैक राष्ट्रिय बाणिज्य बैकमार्फत संसद सचिवालयको खाता संचालन गर्न माग गरे । सांसद श्रेष्ठले चमेनागृहमा राखिएको भिन्न भिन्दै बोर्ड हटाउन पनि सचिवालयको ध्यानाकर्षण गराइन् । सांसद लालकाजी गुरुङले समानुपातिक सांसदहरुलाई सरकारले विभेद गरेको भन्दै बजेट विनियोजनमा समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद विन्दा पाण्डेले महिनाबारी हुदाँ छाउगोठमा राखेमा दण्ड सजाय हुने कानुनी व्यवस्था रहेकोमा त्यसबारे भएको कारवाही र जनचेतनाका लागि भएका प्रयास बारे संसदलाई जानकारी गराउन माग गरिन् । सांसद शान्ति माया तामाङले दोलखाको प्रमुख पर्यटकीय गन्तव्य कालिन्चोकमा सार्वजनिक जग्गाको अतिक्रमण बढेको र सो क्रममा उत्पन्न विवाद सुल्झाउने पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद हरिराज अधिकारी ले सांसदहरुका लागि आवास बनाउने भनिएको स्थानमा मन्त्रीनिवास बनाउन लागेको भन्दै सो निर्णय पुर्नविचार गर्न माग गरे । सांसद यज्ञराज सुनुवारले वाइडडी खरिद प्रकरणबारे सत्यतथ्य जानकारी गराउन माग गर्दै संघ र प्रदेशबीच विकासका काममा रहेको अन्यौलता हटाउन माग गरे ।
प्रतिक्रिया