एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानबीचको एकीकरण टुंग्याउन दुबैले बनाए समिति

एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानबीचको एकीकरण टुंग्याउन दुबैले बनाए समिति

नेपाल र कार्की नेतृत्वका समितिले एकता टुंग्याउने


काठमाण्डु – पार्टी एकता राष्ट्रिय अभियानलाई नेकपा (एकीकृत समाजवादी)मा मिसाउन दुबै तर्फबाट वार्ता समिति बनेका छन् । एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा र राष्ट्रिय अभियानले महासचिव डिवी कार्कीको संयोजकत्वमा समिति बनाएका हुन् ।

नेपाल नेतृत्वको समितिमा वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा छन् भने कार्की नेतृत्वको समितिमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला सदस्य छन् ।

एकीकृत समाजवादीका नेता बाँस्कोटाले अभियानका तर्फबाट वार्ता कमिटी बनाएको जानकारी आएको र अब दुवै पक्षबीच छलफल गरेर अभियानका नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुने टुंगो लाग्ने जानकारी दिए ।

यसअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउन संवाद अघि बढाउने निर्णय गरेपछि ५ पुसमा अध्यक्ष नेपाललगायतका नेताहरू गौतम निवास भैसेपाटी पुगेर गौतमलाई पार्टीमा तेस्रो वरियता दिएर एकीकृत समाजवादीमा भित्र्याउने सहमति गरेका थिए ।

अभियानका महासचिव तथा वार्ता समिति संयोजक कार्कीले आफूहरूले वार्ता समिति बनाएको औपचारिक जानकारी बुधबार एकीकृत समाजवादीलाई दिने जानकारी दिए । समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने नेताहरूले बताएका छन् ।

गौतमले आफू नेतृत्वको अभियानलाई एकीकृत समाजवादीसँग एकता गर्ने सहमति जनाएपछि अभियानले वार्ता समिति बनाएको हो ।