एकतापछि केन्द्रिय समिति जम्बो भन्दै, यस्तो छ कार्यदलको सहमति

एकतापछि केन्द्रिय समिति जम्बो भन्दै, यस्तो छ कार्यदलको सहमति


काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण पछि गठन हुने नेकपा कम्युनिस्ट पार्टीको केन्द्रिय कमिटि जम्बो हुने भएको छ । सांगठानिक संरचनाको टुगो लगाउन गठन भएको विधान मस्यौदा तथा संगठानात्मक कार्यदलले ३ सय १ सदस्यीय केन्द्रिय कमिटि बनाउन सहमति गरेको हो ।

तर, एमाले, माओवादी पार्टीका अध्यक्षद्धयले एकता पछि बन्ने कमिठिमा बढिमा ९९ जना केन्द्रिय समिति बनाउने प्रस्ताव गरेको स्रोत बताउछ । ओली र दाहालले सहमति गरी गत फागुन २ गते बसेको एकता संयोजन समितिमा बढीमा ९९ सय सदस्यीय केन्द्रिय कमिटि बनाउने प्रस्ताव गरेका हुन् ।

तर, दुवै पार्टीमा रहेका केन्द्रीय सदस्यहरूको चर्को दबाब परेपछि कार्यदलमा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति गरेको एक सदस्यले बताए । केन्द्रीय कमिटीको आकार बढेसँगै पोलिटब्युरो र स्थायी कमिटीको संख्या पनि तेब्बर बनेको छ ।

पार्टी एकता संयोजन समितिका रहेका ८ जनाले अब हाइकमान्डका रुपमा राख्ने सहमति कार्यदलमा रहेको छ । हाइकमान्डले अहिले सबैभन्दा माथिल्लो कमिटिले गर्ने काम गर्नेछ, कार्यदलको सहमति उधृत गदै एक सदस्यले भने ।

अध्यक्षद्वय ओली र दाहालको प्रस्तावमा पदाधिकारी असन्तुष्ट बनेको भन्दै चार विकल्पमा छलफल गर्दा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति जुटेको थियो । हाल एमालेमा २ सय ६ र माओवादीमा ९९ सय सदस्यीय केन्द्रीय कमिटी रहेको छ । कार्यदलमा संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने सहमति पनि भएको छ

कार्यदलका एक सदस्यले दिएको जानकारी अनुसार एकतापछि ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाउने सहमति कार्यदलमा भएको छ । ओली र दाहालले भने ३३ सदस्यीय पोलिटब्युरो र ११ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरेका थिए । दुवै पार्टीका पदाधिकारीलाई व्यवस्थापन गर्नुपर्ने भन्दै कार्यदलले ३३ सदस्यीय स्थायी कमिटी बनाउने सहमति गरेको एक सदस्यले बताए ।

‘पदाधिकारीहरू स्थायी कमिटीभन्दा तल्लो कमिटीमा बस्न तयार नभएपछि संख्या बढाएर ३३ पुर्याउनु पर्यो, पोलिटब्युरो र केन्द्रीय कमिटीमा पनि त्यस्तै भयो, सबैको चित्त बुझाउन कार्यदलमा जम्बो संख्यामा सहमति जुटाएको हो,’ ती सदस्यले भने ।

उनका अनुसार सानो संख्यामा कमिटी बनाउँदा आफूहरू नै हालका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा रहेका नेताबाट टार्गेटमा पर्ने भएकोले सबैलाई अटाउने बिधि रोजिएको हो । कार्यदलले जम्बो कमिटी बनाएसँगै अनिवार्य निर्णय लिनका लागि पार्टी एकता संयोजन समितिलाई शक्तिशाली बनाउने सहमति गरेको छ ।

पार्टी एकताका लागि गठित संयोजन समितिलाई पार्टी एकतासँगै स्वतः हाइकमान्डमा परिणत हुने सहमति सहमति कार्यदलले गरेको छ । एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र दाहालसँगै एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् ।