पशुपति गौशाला धर्मशाला विवाद : कोष सञ्चालक परिषद् बैठक स्थगित

पशुपति गौशाला धर्मशाला विवाद : कोष सञ्चालक परिषद् बैठक स्थगित


काठमाण्डु – पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बोलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ ।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले आइतबार बिहान बैठक बोलाएका थिए । तर, बिहान उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको मन्त्री पाण्डेको सचिवालयले जानकारी दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले कात्तिक २ गते गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबार (भोलि) पेसी तोकिएको छ ।

यसअघि कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाएपछि विवाद भइरहेको छ ।