आज अन्तर्राष्ट्रिय शान्ति दिवस

आज अन्तर्राष्ट्रिय शान्ति दिवस


काठमाण्डु-आज अन्तर्राष्ट्रिय शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।

नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो । सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पु¥याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

नेपालको सन्दर्भमा सरकार र तत्कालीन नेकपा (माओवादी) बीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शान्ति प्रक्रियाको शुरुवात भई नयाँ संविधान लेखन कार्य अगाडि बढेको थियो । यस राजनीतिक घटनाक्रमको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक-आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

नेपालको सशस्त्र द्वन्द्वको प्रकृति, यसका कारण र प्रभावहरु तथा यसको समाधानका लागि अपनाइएका उपायहरु आफैंमा विशिष्ट किसिमका रहेकाले राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन-अनुसन्धानै बिषय बनेको छ । तल्कालीन नेकपा (माओवादी)ले थालेको सशस्त्र द्वन्द्व र त्यसपछि भएका तराई मधेश लगायतका अन्य आन्दोलनका क्रममा हालसम्म करिब १८ हजार मानिसको ज्यान गईसकेको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा पाँचहजार पाँचसय ६० वटा भौतिक संरचना नष्ट हुँदा करिब ४ अर्व ५० करोड रुपैंया मूल्य बराबरको क्षाति भएको सरकारी तथ्याङ्क छ ।