काठमाण्डु – विगत तीन वर्षदेखि रुसले युक्रेनसँग युद्ध गर्दै आएको छ । तर, यहाँको जनजीवन एकदमै सामान्य देखिन्छ । मानौं कुनै युद्ध नै भएको छैन, आतंक नै छैन । मेट्रोमा हुने यात्रुको भिडदेखि बार र क्लबमा जम्मा हुने मस्कोका युवाहरूमा युद्धका कारण खासै प्रभाव परे जस्तो देखिँदैन ।
तर अकस्मात् कुनै घटना हुन्छ र त्यसले रुसमा केही कुरा पनि सामान्य छैन भन्ने सम्झना पनि गराउँदै गएको छ ।
गत मंगलबार बिहान रुसका एक वरिष्ठ सैन्य जेनरललाई आफ्नो निवासबाहिर निस्किँदै गर्दा योजनाबद्ध ढंगले हत्या गरिए जस्तो अझ नाटकीय घटना पनि हुन सक्छ ।
लेफ्टिनेन्ट जेनरल किरिलोफ र उनका एक सहयोगीको ‘स्कूटर बम’ विस्फोटन गराएर भएको हत्यापछि युक्रेनसँगको रुसको युद्धको वास्तविकता उसकै आँगनमा देखा परेको छ ।
‘समाचारमा पढ्दा त्यो एउटा खालको कुरा हो । टाढा भइरहेको जस्तो महसुस हुन्छ । तर आफ्नै घरको छेउमा हुँदा यो पूर्णतया अलग र डरलाग्दो हुन्छ,’ एक रुसी युवती भन्छिन् ।
युक्रेनसँगको युद्धलाई टाढा भइरहेको घटनाका रूपमा राजधानी मस्को हेरिने गरेको पाइन्छ ।
जनसंख्याको उल्लेख्य हिस्साका लागि यो उनीहरूले आफ्नो टेलिभिजन वा स्मार्टफोनमा मात्रै महसुस गर्ने एउटा लडाइँ हो। एक ढंगले भन्दा, यो ‘भर्चूअल युद्ध’ हो ।
ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएका र चोटपटक व्यहोरेको वास्तविकतामाझ त्यो साँच्चिकै आश्चर्यजनक हो । तर मस्कोमा रुसी जेनरलको हत्या एउटा खतराको घण्टी हो । युद्ध वास्तविकता भएको र घरकै छेउमा चलिरहेको प्रमाण हो ।
किरिलोफको हत्यापछि रुसी सरकारी सञ्चारमाध्यमको राजनीतिक कार्यक्रमका प्रस्तोताले हमलालाई लिएर युक्रेनमाथि आरोप लगाउँदै यो आक्रमणसँगै राष्ट्रपति जेलेन्स्कीले आफ्नो मृत्युदण्डमा हस्ताक्षर गरेको टिप्पणी गरेका छन् ।
भूतपूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेबले अनुसन्धानकर्ताहरूले रुसमा हत्याराहरू फेला पार्नुपर्ने बताए । ‘हामीले किएभमा रहेका उनीहरूका संरक्षकहरूलाई नष्ट पार्न सबै थोक गर्नुपर्छ’, उनले भने ।
राष्ट्रपति भ्लादिमिर पुटिनबाट जेनरल र उनका सहयोगीको हत्यालाई लिएर कुनै सार्वजनिक प्रतिक्रिया आएका छैनन् ।
तर क्रेम्लिनका नेताले विगतमा धेरै पटक सुरक्षा जोखिम उत्पन्न भएको खण्डमा रुसले सधैँ प्रतिक्रिया जनाउने बताएका छन् । उक्त घोषणाकै आधारमा पनि जबाफी कारबाहीको सम्भावना छ ।
बिहीबार क्रेम्लिनका नेताले आफ्नो वार्षिक पत्रकार सम्मेलन र फोन–इन आयोजना गर्दै छन् । साधारणतया सबै टेलिभिजन च्यानलहरूले त्यसको प्रत्यक्ष प्रसारण गर्छन् ।
रुसी राष्ट्रपतिले अहिलेसम्म सार्वजनिक रूपमा मध्यपूर्वमा मस्कोका मुख्य साझेदार रहेका बशर अल–असदको पतनबारे केही पनि बोलेका छैनन् ।
अनि उनले रुसी नागरिकहरूलाई आफूले विशेष सैन्य कारबाही भन्ने गरेको युक्रेनसँगको युद्ध तीन वर्ष पुग्न लाग्दा देश कुन दिशातर्फ अग्रसर भइरहेको छ भन्नेबारे पनि केही बताएका छैनन् ।
प्रतिक्रिया