पेरिस ओलम्पिक आजदेखि विधिवत सुरु हुँदै

पेरिस ओलम्पिक आजदेखि विधिवत सुरु हुँदै

नेपालको झण्डा स्यान्टु र मनीताले बोक्ने, नेपाल ६ खेलमा प्रतिस्पर्धा गर्दै


काठमाण्डु- खेलकुदको कुम्भ मेला ओलम्पिकको ३३ औँ संस्करणको आज फ्रान्सको पेरिसमा औपचारिक उद्घाटन हुँदै छ । नेपाली समय अनुसार राति ११ बजे उद्घाटन समारोह सुरु हुने छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्ने खेलको आधिकारिक उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा सेलिन डियोन र लेडी गागाले प्रस्तुति दिनेछन् । समारोहका कलात्मक निर्देशक थोमस जोलीका अनुसार उद्घाटन समारोहमा फ्रान्सको विविधता देखाइनेछ ।

पेरिसले १२४ वर्ष पछि ओलम्पिक आयोजना गर्दैछ । ओलम्पिक साउन २७ गतेसम्म सञ्चालन हुने छ ।

औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको प्रतिस्पर्धा सुरु भइसकेको छ ।

पेरिसको सेन नदीको किनारामा उद्घाटन हुनेछ यसअघिका उद्घाटन स्टेडियममा गर्ने प्रचलन थियो । उद्घाटन समारोहमा खेलाडीले सेन नदीबाट डुङ्गामा चढेर पेरिसको यात्रा गर्नेछन् ।

उद्घाटन समारोहका लागि विभिन्न शहरलाई सिँगारिएको छ । सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ ।

यसै गरी आइफल टावरको चाम्प डे मार्समा बिच भलिबलको प्रतियोगिता हुने छ ।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् । यसपालि रुस र बेलारुसले भने ओलम्पिकमा औपचारिक सहभागिता जनाएको छैन ।

ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको संख्या झन्डै बराबर छ । खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिदैछ ।

ओलम्पिकका लागि पेरिसमा १५ वटा खेल स्थलको व्यवस्था गरिएको छ । जहाँ ३२ मध्ये २१ वटा खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका सहरमा गरिने छ ।

१७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन् । पेरिस ओलम्पिकका लागि झण्डै १० बिलियन डलर खर्च हुने अनुमान गरिएको छ ।

पेरिस ओलम्पिकलाई एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने अनुमान छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेका छन् ।

ओलम्पिक सकिदासम्म एक करोड टिकट बिक्री हुने अनुमान गरिएको छ । पेरिसमा सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सेना र ४० हजार प्रहरी तैनाथ गरिएको छ ।

पेरिस ओलम्पिकमा नेपालको झण्डा टेवन टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनीता प्रधानले बोक्नेछन् ।

स्यान्टु घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन् । मनिता भने एसियाली कोटाबाट छनोट भएकी हुन् ।

नेपाली टेबलटेनिसले पहिलो पटक ओलम्पिक खेल्न लागेको हो । त्यसमा पनि स्यान्टु दक्षिण एसियाली छनोट प्रतियोगिता जित्दै ओलम्पिक पुगेका हुन् । जुडोकी मनिताले महादेशीय कोटाबाट ओलम्पिकमा स्थान बनाएकी हुन् । नेपालबाट ६ खेलमा ७ खेलाडीले भाग लिएका छन् । स्यान्टु र मनिताबाहेक एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् ।

टेबलटेनिससँगै ब्याडमिन्टनको पहिलो ओलम्पिक सहभागिता हो । उद्घाटन समारोहमा सन्तोषीबाहेक सबै खेलाडीको सहभागिता रहनेछ । म्याराथन धाविका सन्तोषीको खेल ओलम्पिकको अन्तिम दिन रहेकाले उनी साउन १५ गते मात्र पेरिस जानेछिन् ।