काठमाण्डु-सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल ठगी मुद्दामा मुछिएका छन् ।
एमाले मोरङ जिल्ला कमिटी सदस्य पनि रहेका पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ ।
राजनीतिक शक्तिको आडमा आफूविरुद्ध जाहेरी दर्ता गराउनबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेल विरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतले परमादेश जारी गरेको हो ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले पोखरेल विरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो ।
आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो । पोखरेल २०७९ को प्रदेश सभा निर्वाचनमा मोरङ–२ (ख) बाट उम्मेदवार सिफारिस पनि भएका थिए । तर सो निर्वाचन क्षेत्रबाट अन्तिममा लीलाबल्लभ अधिकारीले टिकट पाएका थिए ।
बौआलाल चौधरीकी छोरीको नाम एमबीबीएसको प्रवेश परीक्षामा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ लिएको अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ ।
लेखा समिति सभापति पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर स्वकीय सचिव पोखरेललाई निष्कासन गरेका छन् । बौआलालले छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता मागेका थिए । पैसा फिर्ता माग्न थालेपछि पोखरेलले धम्की दिन थाले । उनले २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भनेको पनि बौआलालले बताएका छन् । ‘मलाई बोलाइ ८–१० जनाको समूह मानिसले २०७४ असार २५ गते कपाली लिखतमा ऋणी बनाइ ५० लाख रुपैयाँको कागजमा विपक्षी धनी भई जोरजुलुम गरी कागज बनाएको’ चौधरीले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।
पोखरेलले उक्त कागज बनाएपछि बौआलाल जबर्जस्ती हस्ताक्षर गर्न लगाएको ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र कानुनी कारबाही गरिदिन माग गर्दै इलाका प्रहरी कार्यालय रंगेलीमा निवेदन दिएका थिए ।
पोखरेलमाथि ठगीको जाहेरी लिएर गएका चौधरीलाई इलाका प्रहरी रंगेलीले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । रंगेली प्रहरीले पोखरेलविरुद्ध ठगीको जाहेरी दर्ता नगरेपछि उनी जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए ।
त्यहाँबाट जाहेरी दर्ताका लागि प्रहरीलाई लेखी पठाउन माग गरिएकोमा सुनुवाइ भएको थिएन । इलाका प्रहरी, जिल्ला प्रहरी र वकिल कार्यालय धाउँदा पनि जाहेरी दर्ता नगरेपछि चौधरीले २०७९ साउन १८ मा रजिष्ट्री गरी जाहेरी पठाएका थिए । हुलाकबाट आएको पत्र बुझेको प्रहरीले पोखरेलमाथि ठगीमा अनुसन्धान भने अगाडि बढाएन । त्यसपछि उनी पोखरेलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश माग गरिपाउँ भनेर उच्च अदालत विराटनगर पुगेका थिए ।
लेखा समिति सभापति भने पछिल्लो समय मोरङमा नै रहँदै आएका छन् । उनकी श्रीमती अञ्जला कोइरालाविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको छ । कोइरालालाई प्रहरीले पक्राउ गरेको छैन ।
सार्वजनिक लेखा समितिका सभापति पोखरेलले संसद सचिवालयलाई लेखेको पत्र
प्रतिक्रिया