एजेन्सी – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन फ्रान्समा हिंसात्मक बन्दै गएको छ। विरोधप्रदर्शनहरूका क्रममा आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच सबैभन्दा ठूला झडपहरू भएका थिए।
प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका थिए। फ्रान्सको राजधानी पेरिसमा थुप्रै घण्टासम्म प्रदर्शन भएको छ । प्रदर्शनकारीले आगजनीसमेत गरेका छन् । पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ जसमा कम्तीमा एक सय १० घाइते भएका छन् भने दुई सय ६० भन्दा बढीलाई पक्राउ गरिएको छ ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो १२ महिनामा २३ प्रतिशतको बढोत्तरी भएको छ । वैश्विक स्तरमा तेलको मूल्यमा उतार चढाव भइरहेको छ तर फ्रान्समा भने मूल्य वृद्धि पछि कम भएको छैन । राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारले हाइड्रोकार्बन ट्याक्स बढाएका कारण यस्तो भएको बताइन्छ ।
पेरिसमा शनिबार भएको प्रदर्शन जी २० सम्मेलनमा पनि गुञ्जिएको बीबीसीले बताएको छ । म्याक्रोंले पेरिसमा भइरहेको प्रदर्शनलाई अनुचित बताएका छन् ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा यसअघि नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन भएको थियो । त्यतिबेला लगभग तीन लाख मानिस सडकमा उत्रिएका थिए ।
प्रतिक्रिया