काठमाण्डु– ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् ।सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै नेपाल धर्ना दिन सिंहदरबार पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याए सिंहदरबार गेटसम्म पुगेका उनलाई प्रहरीले समातेर सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
उनले सामाजिक सञ्जालमार्फत लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुने बताएका छन् ।
उनलाई यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आएका बेला पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया