स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी


काठमाण्डु – गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करीब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।

गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले ५ अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्यांकबाट देखिन्छ । गत आवमा १ अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार ६९० सेट टेलिफोन आयात भएका छन् ।

हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार विदेशिएको छ । १ वर्षमा २९ लाख ९६ हजार २२९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड ९ लाख २३ हजार भन्सार राजस्व संकलन गरेको छ ।

गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार ८३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार राजस्व संकलन भएको छ । गत आवमा ३५ करोड ५१ लाख ४८ हजार बराबरको २ लाख ३९ हजार ६६९ वटा स्मार्टवाच आयात भएको छ ।