ललितपुर – आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि दर्शन तथा पूजाअर्चना गर्नेको घुइँचो लागेकाे छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । आज कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ ।
प्रतिक्रिया