काठमाण्डु- दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ ।
डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ विमान मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा १७९ जनाको मृत्यु भको थियो । यातायात मन्त्रालयका अनुसार सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरेको देखिएको छ ।
दक्षिण कोरियामा तथ्यांक नभेटेपछि अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा बिश्लेषण गर्दा पनि दुर्घटना हुनु चार मिनेट अघिदेखिको तथ्यांक नभेटिएको हो । उडानको अन्तिम चरणको जानकारी रेकर्ड बक्समा किन रहेन भन्नेबारेमा खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले जेजु एयरको कार्यालयमा छापा मार्नुको साथै जेजु एयरका प्रमुख कार्यकारीलाई देश छाड्न रोक लगाएका छन् ।
प्रतिक्रिया