जहाज दुर्घटनाको छानबिन गर्न छुट्टै निकाय बनाउन सांसदहरूको सुझाव

जहाज दुर्घटनाको छानबिन गर्न छुट्टै निकाय बनाउन सांसदहरूको सुझाव


काठमाण्डु – सांसदहरूले पटक–पटक हुने विमान दुर्घटना रोक्न छुट्टै निकामक निकाय बनाउन सुझाव दिएका छन् । विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्नेमा सांसदहरूको सुझाव छ ।

नागरिक उड्डयन प्रधिकरणले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्दा स्वार्थको द्वन्द्व रहने सांसदहरूको भनाइ छ । विमानको सुरक्षा जाँच र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्ने धारणा सांसदहरूले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राखेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले नेपालमा विमान दुर्घटना भएपछि मात्र छानबिन समिति बन्ने र पाइलटलाई दोषी देखाउने गरेको बताए । ‘छानबिन समिति बन्यो प्रतिवेदन बुझायो अनि सेलायो,’ राणाले भने, ‘अन्य देशमा विमान दुर्घटना हुँदा त्यसमा छानबिन गरेर एक्सन हुन्छ तर नेपालमा भने पाइलटलाई दोषी देखाएर सेलाउँछ ।’

सांसद प्रेम सुवालले नेपालमा आउने विमानहरू पुरानो भएर दुर्घटना भएको हो कि, भन्ने प्रश्न गर्दै यसको राम्रोसँग छानबिन हुनुपर्ने बताए । उनले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा नेपाल सरकार दोषी भएको बताए ।

रास्वपा सांसद शिशिर खनालले नेपालमा हवाई सुरक्षाको विषय निकै पेचिलो बनेको बताए । ‘क्यानले नै हवाई सुरक्षा गर्दा यसले स्वार्थको द्वन्द्व बढेको छ,’ सांसद खनालले भने, ‘हिजोको दुर्घटनालाई मात्र हेर्ने होइन क्यानमा पछिल्लो नेतृत्व आएपछि दुर्घटना बढेको छ ।’

पर्यटनमन्त्री बद्री पाण्डेले बुधबार भएको विमान दुर्घटनामा सरकारले छानबिन गरी त्यसको प्रतिवेदनको आधारमा एक्सन लिने बताए ।