काठमाडौं–असार प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि सुशासन आवश्यक पर्ने बताएका छन्।
नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्वच्छता,पारदर्शिता,कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ। अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।’
देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकोले यो अवसरलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यति ठुलो जनसंख्या काम गर्ने सक्ने अवस्थामा हुनु देशको आर्थिक विकासका लागि ठुलो अवसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
विगतको सरकारको वितीय अनुशासनहिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा भएको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्री बनाउन इच्छुक रहेको स्पष्ट पारे। ‘हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार चाहन्छ देशलाई उद्योगतिर अघि बढाउँ ।’
प्रधानमन्त्री ओलीले उद्योगी व्यावसायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी दिए। उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकोले निर्यातजन्य बस्तु उत्पादन गर्न व्यावसायीहरुलाई प्रधानमन्त्रीले आग्रह गरे। । छिमेकमा विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीले बताए ।
प्रतिक्रिया