जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आह्वान गरे । ‘यो सरकारको मात्रै होइन, सिंगो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाइनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले खोज र उद्धारमा कमी–कमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । उनले राज्य र समाजसँग भएका स्रोतसाधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिबापत कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट गरेका छन् ।