स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१, लघुु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन नीति २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुुतीकरण गरिएको थियो ।

छलफलमा लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट र कपडा उद्योग, नेपाल ओरियण्ड उद्योग लगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो ।

पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिए । सो अवसरमा उद्योगमन्त्री दामोदर भण्डारी, सचिव गोविन्दबहादुर कार्की लगायत सहभागी थिए ।