-सुनिता बराल
‘आलोचनाबाट बच्ने उपाय हो – केही नगर्नु, केही नभन्नु र केही नबन्नु ।’ यो भनाई दार्शनिक एरिसटोटलको हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको काम, अहिलेको परिणाम र उहाँको इच्छाशक्ति र कार्ययोजना देख्दा यो भनाईको सच्चाइमा पुगेको अनुभूति हुन्छ । सरकार भनेको प्रधानमन्त्री मात्रै हो ? होइन । राज्य भनेको प्रधानमन्त्री एउटा व्यक्तिमा मात्रै निहीत छ ? छैन ।
देशमा भए गरेका राम्रा काम, परिणाम र प्रयासको अवमूल्यन गरेर कमीकमजोरी मात्रै खोज्न अभ्यस्त भएका छौं हामी । के साँच्चै केही काम भएको छैन त ? केही नहुने नै हो त ? यो कुरामा म सहमत छैन ।
फेरि सरकारले शतप्रतिशत राम्रो गरेको छ, सन्तुष्ट हुनुपर्छ भनेर दाबी गर्न खोजिएको होइन । राम्रो कुराको अवमूल्यन भइरहँदा हामीमा सकारात्मक सोचको अभाव भने खड्किएको छ । नराम्रो भएको ठाउँमा सच्याउनुपर्छ, कमजोरीप्रति खबरदारी गर्नुपर्छ । तर राम्रा प्रयासमा साथ पनि दिन सिकौ ।
देशको संरचनाभित्र रहेका राज्यका अंगहरू सबै उत्तिकै जिम्मेवारी हुनुपर्छ । सरकारको कामको परिणाम व्यक्ति लक्षित गरेर होइन, समग्रतामा मात्रै गर्ने हो भने पनि यति निराश हुनुपर्ने थिएन । जस–अपजसको बढी भागेदार प्रधानमन्त्री र पार्टीको आखाँबाट हेर्दा अध्यक्ष हुने कुरा स्वाभाविक छ ।
नेपाल कम्युनिस्ट पार्टीका संरचनाको व्यवस्थापनले पूर्णता पाई नसकेको, संघीय संरचनामा भर्खर बामे सर्दै गरेको विकासोन्मुख देशको समग्रतामा सबै सहयोगी बन्नुपर्नेमा पार्टीभित्र र बाहिरबाट ‘हलो अड्काएर गोरु चुट्ने’ काम भएको छ । परिणामको अपेक्षा गर्ने जिम्मेवार पंक्तिले आफूले प्राप्त गरेको जिम्मेवारी र त्यसबाट आएको प्रतिफल हेर्ने गर्नुपर्छ ।
देशमा निर्वाचित भएका प्रदेश र संघीय संसदका माननीय, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र राज्यका विभिन्न तह अनि क्षेत्रमा रहेका कर्मचारीले आफ्नो जिम्मेवारीमा बफादार भएर काम गरेपश्चात् सरकार सफल हुने हो । सरकार कुनै अमूर्त र फरक कुरा होइन । कुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीले काम नगर्नु भन्नुभएको छ ? कुन सांसदलाई आफू निर्वाचित भएको क्षेत्रका जनताको काममा सहयोग नगर्नु भन्नुभएको छ ? कुन मन्त्रालयको सचिवलाई तिमीले मन्त्रालयको काम नगरे हुन्छ भन्नुभएको छ प्रधानमन्त्रीले ? सुरक्षा निकायमा जनताको सुरक्षामा बेवास्ता गर्नु भन्नुभएको छ ? प्रश्न मात्रै गरेर समस्याको समाधानको अपेक्षा अब बन्द गर्ने हो कि सबैले । किनभने परिणामका लागि काम गर्नुपर्छ ।
प्रधानमन्त्रीको जस्तो सक्रियता र विकास निर्माणप्रतिको ईच्छाशक्ति विगतमा कुन प्रधानमन्त्रीले देखाएका थिए । हरेक मन्त्री र सचिवलाई कार्ययोजना पेश गर्न लगाउनेदेखि परिणामको जानकारी लिनेसम्म कुरामा प्रधानमन्त्री लाग्नुभएको छ । देशका कर्मचारीलाई आफ्नो काममा ढिलासुस्ती नगर्न र तोकिएको ठाउँमा गएर काम गर्न पटक–पटक निर्देशन दिनुभएको छ । हरेक कर्मचारीको कामप्रतिको जवाफदेहिता प्रधानमन्त्रीसँग खोजेर हुन्छ ? प्रत्येक व्यक्तिले आफू नैतिक जिम्मेवार बन्नुपर्छ । प्रधानमन्त्रीका कमजोरी औल्याएर टिप्पणी गर्ने नैतिक आधार त आफूले बचाएर राखौ न !
नेपालमा सरकार निर्माणमा लामो समयसम्म अस्थिर अभ्यास भएको थियो । स्थायी सरकारले दीर्घकालीन महत्त्वका काम गर्न खोजेको छ । नाराका लागि होइन, परिणामका लागि काम गर्न खोजेको छ । तर प्रधानमन्त्रीको मात्रै ईच्छाशक्तिले हुँदैन । हामी सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । देशलाई सम्भावनाका क्षेत्र उर्जामा आत्मनिर्भर बनाउने व्यवस्थित योजना, फलाम खानीको अन्वेषण, पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन, पुनर्निर्माणमा रोकिएको कामलाई पूर्णता दिने प्रादेशिक योजनामा खेलको विकास गर्ने कुरामा निकै महत्त्वका साथ काम अगाडि बढाएको छ ।
सामाजिक सुरक्षामा नयाँ शुरूवात भएको छ । कृषि आधुनिकीकरणको विशेष योजना र कृषियोग्य जमिनको संरक्षण गर्ने कार्यक्रम निकै महत्त्वको छ । डुबानको समस्या न्यूनीकरण भएको छ । विपद्मा परेकालाई आकस्मिक स्वास्थ्य सेवा, जोखिममा परेका सुत्केरी महिलाको तत्काल उद्दारका लागि हेलिकप्टरको सञ्चालन गरिनु मानिसको जीवनका लागि महत्त्वका पक्ष हुन् । निराश हुन लागेका जनतामा मंसिर ११ गते शुरूवात भएको सहभागिता र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट उत्साह फर्किएको छ । योजनाको उद्घोषबाट हरेक श्रमिकको ओठमा मुस्कान छाएको छ । ज्येष्ठ नागरिक जीवनप्रति ढुक्क भएका छन् भने बच्चाहरू भविष्यप्रति निश्चिन्त भएका छन् ।
देशका मेरुदण्ड मानिने युवा लक्षित कार्यक्रममा सरकारले विशेष योजना बनाएको छ । अब आर्थिक अभावका कारण कोही विदेशिनुपर्ने छैन । वैदेशिक रोजगारीबाट फर्किएका युवा अब नेपाल सरकारको सहयोगमा देशमा रोजगार बन्नेछन् । सीप र योजना भएका युवालाई व्यावसायिक कर्जाको व्यवस्था भएको छ भने अध्ययनका लागि शैक्षिक कर्जाले प्रोत्साहन गरेको छ । यी सम्भावना र अवसरलाई हामीले उच्चतम् प्रयोग गर्नुपर्छ ।
यसको अर्थ केही कुरामा प्रश्न नगरौं होइन । तर सकारात्मक र नकारात्मक कामको दर कुन तहको छ यो विचार गरौं । गलत भएको ठाउँमा सच्याउनका लागि खबरदारी गरौं । देशमा सुशासन निर्माणका लागि सहयोग गरौं । सचेत बनाउन जुटौं । साथै हरेक व्यक्तिसँग जोडिएको सामाजिक उत्तरदायित्व पनि नभुलौं । नेपालीको परिचय एकताबद्ध समाज, सहयोगी भावना एकअर्काप्रतिको सद्भावमा छ ।
प्रधानमन्त्रीको योजना अनुरुपका काममा खबरदारी गरौं । भ्रष्टाचारमा शून्य सहनशीलतालाई प्रोत्साहन गर्न सबैले भूमिका खेल्नुपर्छ । जुम्लामा फलेको स्याउले बजार पाएन भन्ने चिन्ता गर्ने अनि सडक निर्माणमा असहयोग गर्ने, टिप्पणी र उपहास गर्ने प्रवृत्तिले परिणाम अपेक्षित हुँदैन ।
सरकारले पाएको म्यान्डेड र लक्ष्य भनेको जनमुखी काम नै हो । सरकारको ५ वर्षको काम नेपालको विकास र समृद्धिको आधारशीला सावित गर्नुपर्छ । यसबाट उम्किने छुट सरकारलाई छैन ।
प्रतिक्रिया