काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि चार दिनका लागि चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीनको भ्रमण गर्न लागेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरूलाई टुंगो लगाएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ ।
यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ ।
यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
भ्रमणका क्रममा मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् भने तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् ।
भ्रमणको तयारीकै क्रममा सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) लगायत दुई मुलुकका सहयोग र सहकार्यका विषयमा गृहकार्य भएको छ ।
दुई देशशीच सहयोग र सहकार्य हुँदै आएका कनेक्टिभिटी, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्रमा सहयोग र सहकार्यका विषयमा थप छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया