यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तयारी

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको ‘एजेन्डा’ बारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा अन्तरमन्त्रालय छलफल अघि बढाएका छन् ।

उनीहरूले बेइजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ दूतावाससँग समेत समन्वय गर्दै पुराना सहमति र सम्झौता कार्यावन्यनको खाका अघि बढाएका हुन् । ओली असार पहिलो साता चीन जाँदैछन् ।

‘अहिले भ्रमणका विषयवस्तुबारे छलफल भइरहेको छ । प्रधानमन्त्री आफैंले एक महिनापछि भ्रमण हुने भनेर संसदमै भनिसक्नुभएको अवस्थामा तिथिका विषयमा बहस आवश्यक छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको व्यस्तता र प्रधानमन्त्रीको आन्तरिक कार्यतालिकालाई ध्यान दिएर नै तिथि तय हुनेछ ।’ यो विषयमा कूटनीतिक च्यानलबाट छलफल भइरहेको डा. अर्यालले बताए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बजेटपछि प्रधानमन्त्रीको चीन भ्रमण कार्यक्रमको प्रक्रिया अघि बढ्ने बताउँदै भने, ‘हामीले निकै छोटो वर्किङ भिजिट गर्ने हो । यसमा पुराना सहमति र सम्झौता कार्यान्वयनमै जोड दिइनेछ ।’

भ्रमणको तिथि औपचारिक घोषणा हुनुअघि नै सबैजसो विषयमा दुवै पक्ष स्पष्ट हुने र उच्चस्तरमा छलफलका लागि प्रस्ताव गर्ने तयारी रहेको अधिकारीले बताए ।

सांघाई कोअपरेसनमा नेपाल डाइलग पार्टनरको हैसियतमा उपस्थित हुँदै छ । त्यही समयमा प्रधानमन्त्री उच्च पाहुनाका रूपमा जाने भनिए पनि भ्रमण केही ढिला हुने भएको हो । यसपटक बोआओ फोरममा नेपालको प्रतिनिधित्व भएन । सुशील कोइराला प्रधानमन्त्री भएको समयदेखि चीनले उक्त फोरममा नेपाललाई निम्ता गर्दै आएको थियो भने नेपालले पनि राष्ट्रपति वा प्रधानमन्त्री स्तरमा सहभागिता जनाउँदै आएको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमणकै बेला प्रधानमन्त्रीको भ्रमण टुंगो लागेको हो । ज्ञवालीले प्रधानमन्त्री ओलीको २०७२ अन्त्यमा भएको चीन भ्रमणका क्रममा गरिएका सहमति तथा सम्झौता कार्यान्वयनलगायत विषयमा छलफल गरेका थिए । ओलीको आगामी चीन भ्रमणमा चिनियाँ नाका नजिक सुक्खा बन्दरगाह निर्माणको विषयले प्राथमिकता पाउनेछ ।

 

नेपाल–चीन व्यापार अभिवृद्धिका लागि बन्दरगाह निर्माणलाई समेत जोड दिने भएको छ । यस्तै, तातोपानीमा निर्माणाधीन बन्दरगाहलाई ठूलो बनाउने र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माणका लागि नेपालले प्रस्ताव गर्नेछ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।