महामन्त्रीद्वय थापा र शर्मासँग राय लिएर फेरि प्रधानमन्त्रीसँग भेट्दै देउवा

महामन्त्रीद्वय थापा र शर्मासँग राय लिएर फेरि प्रधानमन्त्रीसँग भेट्दै देउवा

एजेण्डा प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्रिपरिषद् हेरफेर


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफल गरेका छन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम र उपनिर्वाचन तयारीलगायत विषयमा कुराकानी भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

केही समयदेखि गृहजिल्ला डडेल्धुरामा रहेका देउवाले १६ मंसिरमा हुन लागेको ३३ जिल्लाका स्थानीय तहका ४४ पदको उपनिर्वाचनबारे महामन्त्रीहरूसँग जानकारी लिएका हुन् ।

त्यसबाहेक समसामयिक राजनीतिबारे पनि देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका छन् । समसामयिक राजनीतिक घटनाक्रम, सरकारबारे पनि उनीहरूबीच कुराकानी भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका देउवाले भेटमा सरकारमा रहेका मन्त्री फेरबदलबारे कुराकानी गरेका थिए । तर, महामन्त्रीहरूसँगको भेटमा त्यसबारे कुनै कुराकानी नगरेको महामन्त्री शर्माले बताए ।

तर, देउवा निकट स्रोतले मन्त्रीबारे पनि महामन्त्रीहरूसँगको भेटमा सामान्य कुराकानी भएको दाबी गरेको छ । मुख्यतया प्रधानमन्त्री ओलीको १७ मंसिरबाट हुन लागेको चीन भ्रमणका एजेण्डाबारे प्रधानमन्त्रीले महामन्त्रीहरूसँग छलफल गरेका हुन् ।

बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनामा ​​हस्ताक्षर गर्न अनुमति दिने या नदिने भन्ने विषयमा देउवाले महामन्त्रीहरूसँग राय लिएको बताइन्छ ।

महामन्त्रीद्वयसँगको भेटपछि देउवाले अपरान्ह साढे चार बजे पुनः प्रधानमन्त्री ओलीसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भेटमा प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरबारे कुराकानी हुने स्रोतले बतायो ।

साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएकाले त्यसअघि ओली र देउवा शीर्ष नेताहरूसहित बैठक बस्न लागेकाले यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मन्त्रिपरिषद् हेरफेरलगायत विषयमा छलफल गर्न पछिल्लो समय देउवा–ओली भेटघाट दैनिक हुन लागेको छ । कांग्रेसलाई विश्वासमा लिन प्रधानमन्त्री ओली आफैले पहल गरेर देउवासँग भेटघाट बढाएका छन्।

असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको जगमा असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए।