काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकका बाह्यमामिला/विदेशमन्त्रीले सामूहिक शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीसँग श्रीलंकाबाहेक सदस्य मुलुकका बाह्यमामिला/विदेशमन्त्री र बिम्स्टेकका महासचिवले गरेको शिष्टाचार भेटमा बिमस्टेकलाई नयाँ उचाइमा पुर्याउने, पारस्परिक हित र चासको साझा विषयमा सहकार्य गर्ने तथा बिमस्टेक मुलुकको समृद्धि एवम् प्रगतिका निम्ति सात सदस्यीय उक्त उपक्षेत्रीय संगठनलाई अझ सशक्त बनाउनेबारेमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले क्षेत्रीय सहयोग एवम् सहकार्य प्रवर्द्धनमा बिमस्टेकको औचित्य र आवश्यकता अत्यन्त सामयिक रहेको, क्षेत्रीय सम्पर्क विस्तारजस्ता बिमस्टेकका आदर्श र लक्ष्य हासिल गर्न सामूहिक एवम् घनीभूत प्रयासको अपरिहार्यतामा जोड दिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताए ।
बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा काठमाडौं आइपुगेकासदस्य देशका बाह्यमामिला/विदेशमन्त्रीले उक्त बैठकपछि सामूहिक शिष्टाचार भेट गरेका हुन् । भेटमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि उपस्थित थिए ।
प्रतिक्रिया