नयाँ तथा पुराना मन्त्रीलाई भेट्न प्रधानमन्त्रीको डिनर पार्टी !

नयाँ तथा पुराना मन्त्रीलाई भेट्न प्रधानमन्त्रीको डिनर पार्टी !


काठमडौं – गत बुधबार ६ मन्त्री र ३ राज्यमन्त्री परिवर्तन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राति नयाँ तथा पूराना मन्त्रीलाई बालुवाटारमा डिनर भोज गराएका छन् ।

बालुवाटार स्रोतका अनुसार शनिबार राति प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरेका थिए । बारिरिएका मन्त्रीले प्रधानमन्त्रीलाई भेट्न पनि नपाएको भन्ने गुनासो बाहिर आएपछि प्रधानमन्त्री ओलीले पारिवारिक जमघटको आयोजना गरेका एक मन्त्रीले जानकारी दिए ।

‘अनौपचारिक पारिवारिक भेटघाट थियो । खाना खाएर सबैजना फर्कियौं,’ एक मन्त्रीले भने । जमघटमा ओली मन्त्रिपरिषदका पूराना र नयाँ मन्त्रीहरू प्रायः सबै सहभागी थिए भने समाजवादी पार्टीका मन्त्रीहरू भने डिनरमा सहभागी भएनन् ।

प्रधानमन्त्रीले नयाँ सदस्यहरूसँग परिचय, हार्दिकता साटासाट गर्न उक्त भेटघाटको आयोजना गरेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । ‘प्रधानमन्त्रीले बोल्ने, निर्देशन दिने, अरू सदस्यले आफ्ना कुरा राख्ने औपचारिक कार्यक्रम थिएन । अनौपचारिक जमघट हो’ उनले भने ।