एनपीएलको विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान

एनपीएलको विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान


काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतवार प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने जनकपुरका कप्तान र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाइ दिए ।

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्समाथि विजय हासिल गरेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

‘यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपीएलको जित हो । यस खेलमा तपाईँहरूको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरू बधाईका पात्र हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईँहरू हिरो हो । नायक र महानायक हो । म तपार्ईँहरूको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।’

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतीको पहिलो निर्णय गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको जनाउँदै प्रधानमन्त्रीले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन प्रधानमन्त्रीसँग आग्रह गरे ।

जनकपुरका कप्तान आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुसी लागेको प्रतिक्रिया दिए ।