‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’ : प्रधानमन्त्री मोदी

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’ : प्रधानमन्त्री मोदी


जनकपुरधाम– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले नेपालीहरुको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताए ।उनले भने, ‘नेपाल र भारतको आत्मियता यो क्षेत्र (मिथिला)को सांस्कृतिक आस्थाले सिञ्चित रहेको छ ।’

मोदीले विश्वमा मिथिला सांस्कृतिको आख्यान सबैभन्दा माथि रहेको बताउँदै विद्यापतिका रचनाहरु दुवै देशमा समान रुपले महत्व राखेको बताए । उनले मिथिला चित्रकला विश्वमा प्रसिद्ध रहेको बताउँदै सो कलामा प्रस्तुत गरिएको परिवेश महिला सशक्तीकरण तथा जलवायु परिवर्तन र पर्यावरणीय सचेतनालाई परिलक्षित गरिरहेको बताए ।

नेपाल–भारतको मित्रता त्रेता युगदेखि नै रहँदै आएको स्मरण गर्दै उनले आस्था, अपनत्व, रोटी बेटीको सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । रासस