सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय


काठमाडौं – प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ। प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ।

प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी मन्त्रिपरिषद्को १४ चैतको बैठकले ६ नयाँ महाशाखा थप्ने निर्णय गरेको थियो ।यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

५ सचिव, ११ महाशाखा, २ सय ३७ दरबन्दी
प्रधानमन्त्री कार्यालयमा ५ सचिव रहने गरी ११ वटा महाशाखाअन्तर्गत २ सय ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ जनाको दरबन्दी थियो।

सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कुटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा नयाँ थपिएका हुन्। सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन्।

कार्यालय खोज्न सिंहदरबार पुनर्निर्माणलाई पत्राचार
कार्यकक्ष अभाव भएपछि सिंहदरबार पुनर्निर्माण सचिवालयलाई पत्राचार गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

‘सचिवालयलाई १६ वटासम्म कोठा उपलब्ध हुने गरी छिटो व्यवस्थापन गरिदिन पत्राचार गरेका छौँ, विभिन्न विकल्पमा छलफल चलिरहेको छ,’ कुँवरले भने, ‘कार्यालय व्यवस्थापन हुन नसकेका कारण सहसचिवज्यूहरूलाई जिम्मेवारी तोकिए पनि दैनिक कामकाज आरम्भ गर्न सक्नुभएको छैन ।’

दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री
महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् । भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।