सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनुहुँदैन : प्रधानमन्त्री

सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनुहुँदैन : प्रधानमन्त्री


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् ।

नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा शनिवार मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको १० लाख रुपैयाँमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख रुपैयाँ दिएको जानकारी पनि गराए ।

‘सबै भाषा र संस्कृति हाम्रा हुन् । नेपाली माटोका यी भाषा र संस्कृतिको संरक्षणमा हामी सबै एक भएर लाग्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मङ्गलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत् नयाँ वर्षका कार्यक्रममा पुुगेर शुुभकामना दिएका थिए ।