विप्लवलाई चैतभित्र जेल पठाइसक्ने प्रधानमन्त्री ओलीको चेतावनी

विप्लवलाई चैतभित्र जेल पठाइसक्ने प्रधानमन्त्री ओलीको चेतावनी


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका सबै नेताकार्यकर्ताहरुलाई चैत महिनाभित्र नियन्त्रणमा लिइसक्ने बताएका छन्। सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आतंक मच्चाउँदै हिँडेको भन्दै विप्लवलाई छिट्टै राजनीतिक मूलधारमा आउने भए समय भएको र त्यो नमाने पक्राउ गरिने बताएका हुन।

विप्लव समूहका नेता कार्यकर्ता पक्राउ पर्न थालेको बताउँदै ओलीले भने, ’चैत महिनाभित्र विप्लव पनि नियन्त्रणमा आउनेछन।’ प्रधानमन्त्रीले नेकपाका नेताको हत्याको योजना बनाएको भन्दै त्यस्तो गर्ने विप्लव समूहका कोही पनि छुट नपाउने बताए। विखण्डनको राजनीति गर्दै आएका सिके राउतको उदाहरण दिँदै प्रधानमन्त्रीले विप्लवलाई पनि पक्राउ गरेर सुधार्ने बताए । ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिसक्ने बताए।

उनले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लवसँग समय रहेको र मूलधारमा आउने मौका नछोड्न उनीहरुलाई आग्रह गर्दै भने, ‘यदि उहाँहरु शान्तिपूर्ण तरिकाले मूलधारमा आउनुहुन्न भने जेलको बाटो मूलधारमा आउनु हुनेछ।’

चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको तयारी राम्रोसँग अघि बढिरहेको जानकारी पनि प्रधानमन्त्री ओलीले नेकपा सांसदहरुसँग गराए। उनले भने, ‘केहीले चासो नदेखाउँदैमा लगानी सम्मेलनमा खासै असर गर्दैन, सबैका आआफ्ना स्वार्थ हुन्छन्।’ विभिन्न कारण देखाउँदै अमेरिका र युरोपेली युनियन लगानी सम्मेलनमा सहभागी हुने छैनन्।

प्रधानमन्त्री ओलीले एक महिनापछि सुरु हुने बजेट अधिवेशनका लागि तयारी गर्न पनि सांसदहरुलाई निर्देशन दिए। ‘बजेटबारे केके कार्यक्रम ल्याउनुपर्छ, गाउँगाउँ गरेर घुमेर योजना लिएर आउनुस’ उनले सांसदहरुसँग भने।