काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । फागुन २४ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।
‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के–को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको समेत बताए । उनले भने, ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्मशील हुन,सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्यूनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’ प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया