प्रधानमन्त्री ओलीले गरे धरहरा शिलान्यास

प्रधानमन्त्री ओलीले गरे धरहरा शिलान्यास


काठमाडौं – २०७२ साल वैशाखको भूकम्पले भत्किएको धराहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयोजित एक कार्यक्रममा धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । विभिन्न कारणले पुनर्निर्माण हुन नसकेको धरहरा भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा धरहराको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित छन् ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण सुरु हुन सकेको थिएन । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन्। पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ। कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको हो।

धराहरा २९ रोपनी क्षेत्रफलमा फैलिने र धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन,आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन्। नयाँ बन्ने धरहरा ११ तलाको बन्नेछ। धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ।