देब्रे घुँडा र दाहिने घुँडा छुट्याउनै नसक्ने कसरी डाक्टर भए : प्रधानमन्त्री ओली

देब्रे घुँडा र दाहिने घुँडा छुट्याउनै नसक्ने कसरी डाक्टर भए : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गरेका छन् ।ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिए ।

वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भने ‘दाँया र वाँया घुंडो नचिन्ने, एउटा बेडको विरामीको अप्रेसन गर्नु पर्ने अर्कै बेडको विरामको अप्रेसन गर्ने डाक्टर छन् भन्ने सुनेको छु । के पढेर आएका डाक्टरहरुले यसो गर्छन् । त्यस कारण चिकित्सा शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्दछ ।’ यसले चिकित्सा शिक्षाको गुाण्स्तरीयतामा प्रश्न उब्जाएको प्रधानमन्त्री ओलीले बताए ।
सरकारी अस्पतालको गुणस्तरीयतामा जनस्तरबाट प्रश्न उठ्ने गरेकोले यसलाई अन्त्य गर्न ऐतिहासिक वीर अस्पताल अघि सर्नु पर्ने उनको भनाई रहेको छ । ओलीले विषादीयुक्त खाद्यपदार्थ मानव स्वास्थ्यका लागि समस्या भएको उल्लेख गर्दै भने ‘नेपाल जस्तो स्वस्थ्य हावापानी भएको देशमा विषादीको प्रयोगले गम्भिर स्वास्थ्य असन्तुलन सृजना गरेको छ । यसलाई न्यून गर्न सबैको प्रयास जरुरी छ ।’

उनले विगतमा जस्तो अब शिलान्यास गर्ने तर काम नहुने छुट नभएको बताए । ‘मैले सुनेको छु एउटै पुलको शिलान्यास ११ पटक सम्म भएको छ रे ’उनले भने ‘अब कुनै पनि योजनाको शिलान्यास एकपटक हुन्छ । तोकिएको समयमा सम्पन्न हुन्छ र उद्ध्घाटन हुन्छ । ’ कुनै पनि योजना तोकिएको समयमा नसकिए त्यसको स्पष्ट कारण खोजिने उनले बताए । ‘अबको नेपालमा छलछाम गर्ने, आलटाल गर्ने गुणस्तर घटाउने मौका हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘सबै कामको अनुगमन हुन्छ । अनुगमन गर्ने निकाय माथी थप अनुगमन पनि हुन्छ । त्यस कारण सबैले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरौं ।’

प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिए । ‘अब कडा कदम नचाली देश बन्दैन’ उनले भने ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं । देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं ।’ अढाइ वर्ष भित्र सम्पन्न हुने गरी २ अर्ब ८५ करोड रुपैंया लागतमा वीर अस्पताल सजिर्कल भवन निर्माण हुन लागेको हो । भवनमा ६५० शैया रहनेछन् ।