काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
उनीहरुको शुक्रबार थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेट भएको हो।
मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भने ब्यांककस्थित सांग्रिला होटलमा बसेको छ। मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ।
भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओली गत असारमा प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको गत असोजमा न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन ।

प्रतिक्रिया