बन्न लागेको नयाँ प्रधानमन्त्री निवास मेरा लागी होइन : प्रधानमन्त्री ओली

बन्न लागेको नयाँ प्रधानमन्त्री निवास मेरा लागी होइन : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बन्न लागेको नयाँ प्रधानमन्त्री निवास आफ्नो लागी नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गर्दै आफ्ना आलोचकहरुलाई सो जवाफ दिएका हुन् ।

संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना भएकोमा प्रधानमन्त्री ओलीले गुनासो गर्दै भने ‘म अहिले ४१ औं प्रधानमनत्री छु । यो प्रधानमन्त्री निवासमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल उक्त भवन बनाउँदैमा सकिने बताउँदै अबका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने र त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले उक्त भवनमा आफ्नो कार्यकाल विताउने दावी गरे ।

हालको सरकारी निवास भूकम्पले क्षति पुर्‍याएको भन्दै ४० करोड रुपैयाँ (भ्याटबाहेक) खर्च गरेर प्रधानमन्त्री निवासका लागि दुईवटा नयाँ भवन बनाउन लागिएको हो । नयाँ भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि हुने छ भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गरिने छ । निजी भवन बनाइसकेपछि मात्रै सार्वजनिक भवन बनाउन थालिने छ ।