प्रधानमन्त्री ओली पुगे गान्धीको समाधिस्थलमा, भने ‘गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ’

प्रधानमन्त्री ओली पुगे गान्धीको समाधिस्थलमा, भने ‘गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ’


नयाँदिल्ली– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेपाली भ्रमण दलका सदस्यहरुसँगै समाधिस्थलमा पुगेका ओलीले त्यहाँ राखिएको उपस्थिति पुस्तिकामा गान्धीलाई ‘बापु जी’ को नामले सम्वोधन गर्दै केही नोटसमेत लेखे ।

श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो भन्दै नोट लेखेका छन् ।

यस अवसरमा समाधिस्थलमा रहेका भारतीय अधिकारीहरुले ओलीलाई माहात्मा गान्धीको मूर्तिका साथै केही पुस्तकहरुसमेत उपहार दिए ।
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ ।