प्रधानमन्त्री ओली संविधान संशोधन गर्न तयार, राजपासँग मागे सात दिन

प्रधानमन्त्री ओली संविधान संशोधन गर्न तयार, राजपासँग मागे सात दिन


काठमाडौं – सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नेलगायतका माग छिटोभन्दा छिटो गर्न समाधान गरेर अघि बढन सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन, मधेस आन्दोलनमा लगाइएका मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ र मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सात दिनभित्र प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको राजपा महासचिव केशव झाले जानकारी दिए।

‘हाम्रा अध्यक्षहरूले प्रधानमन्त्रीले मागेको छठपछिको समय पनि सकियो, माग सम्बोधन भएन। अब किन समर्थन जारी राख्ने? भनेर प्रश्न गर्नुभयो’, उनले भने, ‘प्रधानमन्त्रीले एक साताभित्र सबै माग सम्बोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ।’

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा भएको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए।

त्यस अवसरमा एक हप्ताभित्र पनि आफूहरुको माग सम्बोधन गर्ने तयारी नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले दिएका थिए । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।