प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको (आज) आइतबार संसद-सम्बोधन हुने भएको छ। प्रधानमन्त्री ओलीले संसदमा विपक्षी दलले उठाएका प्रश्नहरुको जवाफ दिने बताइएको छ। वाइडबडी विमान खरिदमा आर्थिक अनियमितता प्रकरणलाई लिएर प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आलोचना गरिरहेको छ ।

सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व मन्त्रीलाई पनि भ्रष्टाचारमा मुछिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिपक्षबाट सामाजीक सुरक्षा कोष आफ्नै सरकारको समयमा सुरु भएको प्रक्रियालाई वर्तमान सरकारले ‘जस’ लिने प्रयास गरेकोसमेत टिप्पणी गरेको थियो।

साथै एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताका बारेमा पनि संसदमा प्रश्न उठाइएको थियो। वर्तमान सरकारले काम भन्दा बोलीलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले संसदमा सम्बोधनमार्फत सरकारको धारणा राख्न लागेका हुन्। स्रोतका अनुसार दिउँसाे एक बजे हुने सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका काम कारबाहीको फेहरिस्त संसदमा प्रस्तुत गर्नेछन्।