काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारलाई शोकलाई शक्तिमा बदलेर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाव दिएका छन् । प्रचण्ड पुत्र स्व. प्रकाश दाहालको प्रथम स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले रोएर नफर्कने कुरामा आँसु धेरै बगाउनु नुहुने बताए ।
‘हिजोका दिनमा प्रकाश दाहालको असामयिक निधनमा परिवारले देखाएको संयमताको म प्रशंसा गर्छु र भोलिका दिनमा पनि यही संयमताको अपेक्षा छ’ प्रधानमन्त्री ओलीले भने, ‘पीडालाई आत्मसाथ गर्दा झन् पीडा थपिने हो, त्यसबाट परिस्थिति परिवर्तन हुँदैन ।’
‘प्रकाशमा मिलनशालीता, मानिससँग व्यवहार गर्ने तरिका, प्रचण्डको सचिवालय हाँक्ने खुबी थियो । प्रचण्डको सहयोगी भएर उहाँका हरेक कामको व्यवस्थापन गर्नु त्यति सजिलो काम थिएन तर प्रकाशले त्यो काम गरेर देखाए’, उनले भने । अप्रत्यासित शोकको स्थितिमा प्रचण्ड र उनको परिवार बडो संयम, धैर्यताका साथ त्यसको सामना गर्दै अघि बढेको भन्दै प्रधानमन्त्रीले त्यसको प्रशंसा गरे ।
प्रचण्डमा आफूले असाधारण धैर्यता देखेको उनको जिकिर थियो । मानिसको जीवन कतिबेला के हुने हो भन्ने कुनै पूर्वजानकारी नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस घडीलाई धैर्यताका साथ स्वीकार गर्नुपर्ने बताए । ‘मानिस एकदिन अवश्य मर्छ, कसको जीवन कतिबेला के हुने हो थाहा हुँदैन’ उनले भने, ‘कहिलेकाहिँ अप्रत्याशीत शोकहरुको पनि सामना गर्नुपर्छ ।
प्रतिक्रिया