प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षी सेनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षी सेनबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी हुनसेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली र हुनसेनबीच होटल द्वारिकाजमा बिहिबार साँझ करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भयो।

एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो । छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषयमा छलफल भयो।

सो अवसरमा दुई प्रधानमन्त्रीबीच पर्यटन प्रवर्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा महत्त्वपूर्ण कुराकानी भएको बताइएको छ। छलफलमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए। नेपाल र कम्बोडियाबीच उच्च सरकारी तहमा भ्रमण आदानप्रदानलाई बढावा दिने तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान धारणाका साथ अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो।

यस्तै नेपाल र कम्बोडियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने विषयमा समझदारी भएको छ। समझदारीपत्रमा परराष्ट्रमन्त्री ज्ञवाली र कम्बोडियाका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री पार्क सोख्खेनले हस्ताक्षर गरे।

संयन्त्रले दुई देशका साझा चासो र हितका विषयमा साझा धारणा बनाउनेछ। यस्तै कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौतामा समेत उनीहरूले हस्ताक्षर गरे। प्रधानमन्त्री ओली र सेन होटल द्वारिकामा आयोजित रात्रिभोजमा सहभागी भएका थिए। प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा सेन बिहीबार काठमाडौं आइपुगेका हुन्।