काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन्।
शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणाशासनविरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानका कारण नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छन्।
‘पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ’, प्रधानमन्त्रीले सन्देशमा उल्लेख छ, ‘राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रीकृत भएका छौँ।’
उनले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा मात्र शहीदप्रति सच्चा श्रद्धान्जलि व्यक्त गरेको ठहरिने बताउँदै देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान् सपूतप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आह्वान गरेका छन् ।
प्रतिक्रिया