काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न शनिबार (केहीबेर अघि) धनुषाको जनकपुर पुगेका छन्। उनले भर्खरै प्रदेशसभा बैठकमा सम्बोधन सुरु गरेका छन्।
विमानस्थल पुगेर मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्। प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रदेशसभा बैठकलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसदले भने बहिष्कार गरेका छन्।
राजपाका महासचिव तथा सप्तरीबाट प्रदेशसभामा निर्वा्चित सांसद मनिष सुमनले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने निर्णयमा आफूहरू पुगेको बताए। ‘संसदीय नियमावली विपरीत प्रधानमन्त्रीले सम्बोधन गर्दै छन् । त्यसलै हामीले बहिष्कार गरेका हौं’ प्रदेश सांसदसमेत रहेका सुमनले भने, ‘प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने पार्टीको संस्थागत निर्णय त होइन।
तर सांसदहरूले बहिष्कार गर्ने निचोडमा पुग्यौं।’ ‘प्रधानमन्त्री ओलीको व्यवहार आजसम्म पनि ‘कोर मधेश’ विरोधी हो। उनका वचन जहिले पनि मधेशका विरुद्ध हुन्छन्’ उनले भने।
प्रतिक्रिया